यादहरु अझैपनि ताजै छन्


चारैतिर हरिया पहाड अनि
वन जङ्गल बीचको एउटा गाउँ
जहाँ म जन्मे अनि हुर्के
त्यही माटोमा चिप्लेती खेल्दै
तिनै बाटोमा पाईला चाल्दै
तातेताते गर्दै दह्रो खुट्टा टेक्न सिके
अझैपनि ती यादहरु ताजै छन

गोठालो जादा घुमेका वन जङ्गल
उकाली, ओराली र खोल्साहरु
रातो रङ्गले ढपक्कै ढाक्ने गरि
फुलेका लालिगुराँस फुलहरु
विभिन्न चराहरुको आवाजले
गुन्जने मनोरञ्जनात्मक वातावरणमा
दिनचर्याहरु बिताएका ती पलहरु
ती क्षणहरु अझै पनि ताजै छन

बर्खा यामको पानीको झरिमा
निथ्रुक्क भिज्दै
च्याउ टिप्ने रहरमा
भीरपाखाहरुमा दौडधुप गरेको
प्यास मेताउनलाई ढुङ्गाबाट झरेको
पानी रुखको पात तिपेर
टपरी जस्तो बनाएर
पानीको प्यास मेटाएको
ती दिनहरु अझैपनि ताजै छन

कुहिरोसङ रमाउदै लुकामारी गर्दै
ओदारहरुमा (गुफा) लुकेको
आगो बालेर तापेको
रुखको हाङाहरुमा पिङ खेलेको
ऐसेलु, तेजु अनि चिउराका
फलहरु टिपेर खाएको
भिरमा सररर चलेको हावामा
टोपी उदाएको त्यो दिनहरु अझैपनि ताजै छन

सुसेली हाल्दै गाएको
रामे, स्यामे भन्दै साथीलाई कराएको
जमिनमा हसियाले कोरेर
दीलको चित्र अनि
आफ्नो नाम लेखेको
गुच्छा अनि ध्याक खेलेको
साझपख घर जादा गाई अनि बाख्रालाई
लठ्ठीले चाहार्दै धपाएको
त्यो पलहरु अझैपनि ताजै छन

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "